loader

Breaking News

पद्मश्री काजी सिंह अब रहेनन्

Image
 

द हिमाल वर्ल्ड
सिलगढ़ी, 22 जनवरी, 2025

'तिमी त रैछौ मङ्गले गाउँको मै पनि त्यै गाउँको...' जस्तो लोकप्रिय अनि कालजयी गीत रचना गरेर नेपाली गीत-सङ्गीतप्रेमीहरूको हृदयमा बस्नपुगेका पद्मश्री काजी सिंह अब रहेनन्।
भारतीय गोर्खाहरूका गौरव एवम् मादल सम्राटका रूपमा चिनिने काजी सिंहको सिलगढ़ीस्थित एउटा निजी नर्सिङहोममा 21 जनवरी मंगलवार राति 11 बजी निधन भयो। उनी 80 वर्ष पुगेका थिए।  
बुधवार सिंहको पार्थिव शरीर कालेबुङको ७ माइलस्थित उनको निजी निवासमा पुऱ्याइयो। 
काजी सिंहका छोरा निशान्त सिंहले जनाए अनुसार, उनी लामो समयदेखि मृगौला रोगले पीडित थिए। केही दिनदेखि अस्वस्थ बनेपछि उनलाई उपचारका लागि सिलगढी लगिएको थियो। मंगलबार उनको स्वास्थ्य अचानक बिग्रिएपछि हृदयघात हुँदा उनको मृत्यु भएको परिवार पक्षले जनाएको छ।
काजी सिंहलाई अन्तिम श्रद्धाञ्जलि दिन विभिन्न राजनैतिक दल, सामाजिक संघ-संस्था  र सांगीतिक क्षेत्रका व्यक्तित्वहरूसहित शुभचिन्तकहरू उनको निवासमा पुगेका थिए। 
सिंहले आफूपछि पत्नी गंगा सिंह, छोरी विद्या सिंह अनि छोरा निशान्त सिंह छोडी गएका छन्।
सन् १९४५ -मा पश्चिम बंगालको कालेबुङमा जन्मेका काजी सिंह गोर्खा सांगीतिक परम्पराका अद्वितीय व्यक्तित्व थिए। उनको सांगीतिक यात्रा सन् १९५२ -मा मारुनी नृत्यमा सहभागी भएसँगै शुरू भएको थियो। सिंहले आफ्नो सांगीतिक यात्रामा मादलको परम्परागत शैलीलाई शास्त्रीय स्वरूप प्रदान गर्दै त्यसलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउने कार्य गरे।
सन् 1974 -मा मादलको शास्त्रीय स्वरहरूको आविष्कार गरी नेपाली संगीतलाई अन्तर्राष्ट्रिय स्तरमा प्रतिष्ठा दिलाउनु काजी सिंहको एउटा ऐतिहासिक योगदान थियो। सन् १९७४ -मा मुम्बई गएर लक्ष्मीकान्त-प्यारेलाल र कल्याणजी-आनन्दजी जस्ता प्रख्यात संगीतकारहरूसँग उनले सहकार्य गरे। त्यहाँ उनले मादलका शास्त्रीय नोटेशन तयार गर्दै यसको महत्त्वलाई स्थापित गरे। सन् १९८३ -मा कालेबुङ फर्किएपछि उनले परम्परागत संगीतको संरक्षण र प्रबर्द्धनमा सक्रिय योगदान दिएका थिए।
संगीत र वाद्ययन्त्रका विषयमा पाँचभन्दा बढी पुस्तक लेखेका काजी सिंहले कालेबुङमा ‘संस्कृति संरक्षण संस्थान’ पनि स्थापना गरेका थिए।
उनले कालेबुङमा "संस्कृति संरक्षण संस्था" स्थापना गरी नेपाली-गोर्खा लोक संस्कृतिको संरक्षण र प्रवर्द्धनमा सक्रिय भूमिका निभाएको थाहा लाग्दछ। 
सन् 2022 –मा संगीतको संरक्षण अनि सम्वर्द्धनमा उनको उत्कृष्ट योगदानका लागि उनलाई भारत सरकारद्वारा पद्मश्री पुरस्कारले विभूषित गरिएको थियो। 
गोर्खा जातिको प्रमुख वाद्यवादन "मादल"-लाई विश्वमै परिचित गराउने काजी सिंहले जीवनको अन्तिम क्षणसम्म पनि आफूले संगीत सिकिरहेको बताउने गर्थे। 
काजी सिंहको निधनप्रति गहिरो शोक व्यक्त गर्दै सामाजिक सञ्जालसितै विभिन्न माध्यमबाट शोक सन्तप्त परिवारप्रति समवेदना प्रकट गरिरहेका छन्। यसै क्रममा, सिक्किमका मुख्यमन्त्री पीएस गोलेले आफ्नो फेसबुक पेजमार्फत् सिंहको निधनलाई संगीत अनि संस्कृतिको क्षेत्रमा एक महान् हस्ती गुमाएको बताएका छन्। सिंहको निधन गोर्खा समुदायका लागि एक अपूरणीय क्षति रहेको उल्लेख गर्दै उनले सिक्किम अनि सिक्किमवासीको तर्फबाट शोकाकुल परिवारप्रति समवेदना प्रकट गरेका छन्।
यसैगरी, जीटीएका प्रमुख कार्यपाल अनित थापाले पद्मश्री काजी सिंहको निधनको खबरले आफू मर्माहित बनेको जनाउँदै सिंहलाई भारतीय गोर्खाहरूको गौरव भनी बताएका छन्। सिंहलाई मादल विषेशज्ञको संज्ञा दिँदै थापाले उनको निधनले गोर्खा गीत-संगीतलाई अपूरणीय क्षति पुगेको बताएका छन्। 
यसरी नै, दार्जीलिङका भाजपा सांसद राजु विष्टले पनि सिंहको निधनप्रति शोक व्यक्त गर्दै संगीतका उस्ताद काजी सिंहले आफ्नो जीवन संगीतको सेवाका लागि समर्पित गरेको बताएका छन्। देशकै प्रमुख मादलवादकको रूपमा परिचित काजी सिंहको निधनले भारतभरिकै गोर्खा समुदायलाई ठूलो क्षति पुगेको जनाएका छन्।  
यसैगरी, दार्जीलिङका कंग्रेस नेता डा. मुनिष तामङले काजी सिंहको निधनप्रति दुख व्यक्त गर्दै सिंहलाई हाम्रो क्षेत्रका संगीतका आइकन भनी बताएका छन्। उनले शोक सन्तप्त परिवारप्रति समवेदना पनि प्रकट गरेका छन्।
यस्तै प्रकारले, सिक्किमका पूर्व मुख्यमन्त्री पवन चामलिङले पनि काजी सिंहको निधनमा शोक व्यक्त गर्दै काजी सिंहको निधन भारतका सम्पूर्ण गोर्खा समुदायका लागि एउटा ठूलो क्षति रहेको बताएका छन्। 
यसैगरी, सिटिजन एक्सन पार्टी, क्यापको पक्षबाट प्रचार-प्रसार महासचिव हेमराज अधिकारीले शोक समवेदना जारी गर्दै काजी सिंहको निधनले नेपाली-गोर्खा समुदायमा अपूरणीय क्षति पुगेको जनाएका छन्। 
शोक समवेदना प्रकट गर्ने क्रममा दार्जीलिङको श्री विश्वकर्म समाज लगायत अन्यान्य समाज, संघ-संस्थाहरूले पनि सिंह निधनमा गहिरो दुख व्यक्त गरिरहेका छन्।
पद्मश्री काजी सिंहको निधनप्रति गहिरो दुख व्यक्त गर्दै द हिमाल वर्ल्ड परिवार उनप्रति हार्दिक श्रद्धाञ्जलि अर्पण गर्दछ।
 


Leave a Comment